कमल शाही २०८२ जेठ १७ शनिबार दैलेख । विवाहवारी २० वर्ष पारौं” भन्ने नारासहित बाल विवाह, साइबर अपराध र लागूपदार्थ दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन हुने भएको छ।
प्रगतिशील बाल सञ्जाल, चामुण्डाविन्द्रासैनी नगरपालिका, दैलेखको आयोजनामा हुन लागेको कार्यक्रममार्फत बालबालिका, युवाहरू, अभिभावक, शिक्षक तथा सरोकारवाला निकायहरूलाई सामाजिक अपराधविरुद्ध सचेत बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रमको समन्वय सोसेक नेपाल र BBC Counseling Centerले गर्नेछन् भने नेपाल प्रहरी सहकार्यकारी संस्थाको रूपमा सहभागी हुनेछ। कार्यक्रममा साझा सञ्चार नेपाल चाबहिल काठमाडौँ र पञ्चकोशी मिडिया डट कम कार्यक्रमका मिडिया साझेदार रहेका छन्।
कार्यक्रमका संयोजक नवीन शाहीका अनुसार, सामाजिक विकृति र विसंगतिका रूपमा बढ्दो बाल विवाह, साइबर अपराध र लागूपदार्थ दुर्व्यसनविरुद्ध समुदायस्तरमै जनचेतना फैलाउन कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ।
उनले भने, “समाजमा फैलिएको यस्ता अपराधको न्यूनिकरणका लागि समुदाय, अभिभावक र स्वयं बालबालिकाबीच संवाद र सहभागिता आवश्यक भएकाले यो कार्यक्रममार्फत सकारात्मक सन्देश फैलाउने प्रयास हुनेछ।”
कार्यक्रम निम्न मिति र स्थानमा सञ्चालन हुनेछ: २०८२ जेठ १८ गते – जयदेव माध्यमिक विद्यालय, जम्बुकाँध २०८२ जेठ १९ गते – भैरव माध्यमिक विद्यालय, डौँसुर २०८२ जेठ २० गते चामुण्डा माध्यमिक विद्यालय, हाडाकोट कार्यक्रम स्थल सम्बन्धित विद्यालयकै प्राङ्गणमा हुनेछ। प्रत्येक स्थानमा स्थानीय बालबालिका, शिक्षक, अभिभावक, प्रहरी र अन्य सरोकारवाला निकायहरूलाई सहभागी गराइनेछ।
आयोजक संस्था अनुसार, कार्यक्रमले युवाहरूमा सामाजिक चेतना फैलाउने, कानुनी ज्ञान अभिवृद्धि गर्ने तथा समुदायलाई जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक नवीन शाहीले जानकारी दिनुभएको छ।