दैलेख — अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष समिर रोकाया ले देश अहिले जटिल र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। उनले देश नेतृत्वविहीन जस्तो देखिएको र विदेशी शक्तिहरूको चलखेल बढेको आभास भइरहेको उल्लेख गरेका छन्।
रोकायाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। “हामी बहादुर नेपालीको पहिचान विश्वसामु नझुकेको हो, अब बाह्य शक्तिको सामु झुक्ने हो कि भन्ने चिन्ता छ,” उनले भने।
उनले जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त उपलब्धि, जनताको अधिकार तथा उत्पीडित वर्ग, क्षेत्र र लिङ्गका अधिकार गुम्ने खतरा रहेको बताए। “यो व्यवस्था ल्याउन हजारौं सहिद, बेपत्ता, घाइते तथा अपाङ्गहरूको बलिदान जोडिएको छ,” उनले उल्लेख गरे।
रोकायाका अनुसार देश अप्ठ्यारो परिस्थितिमा हुँदा होस् वा परिवर्तनका प्रत्येक चरणमा विद्यार्थीहरू सधैं अग्रमोर्चामा उभिँदै आएका छन्। उनले भने, “७६ जना विद्यार्थीले बलिदान दिएर स्थापित भएका अधिकारमाथि कुठाराघात गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”
पछिल्लो समय दुई तिहाइ नजिक पुगेको दलले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरिरहेको भन्ने चर्चा चलिरहेकोप्रति उनले आपत्ति जनाउँदै चेतावनी दिए। “विद्यार्थी संगठनहरूलाई अराजक भन्दै खारेज गर्ने जस्ता कुचेष्टा नगरियोस्, यसले लोकतान्त्रिक अभ्यासमाथि प्रहार गर्छ,” उनले भने।
उनले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि उभिएको नयाँ शक्तिलाई बधाई दिँदै जनताको भावना अनुसार काम गर्न आग्रह गरेका छन्। विगतमा बहुमत प्राप्त सरकारहरूले जनताको अभिमतको कदर नगरेका उदाहरणहरू रहेको उल्लेख गर्दै उनले नयाँ सरकारलाई त्यस्ता कमजोरी दोहोर्याउन नहुने सुझाव दिए।
“विदेशिन बाध्य भएका युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता हो,” उनले भने। उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भरता मार्फत मात्रै जनताको जीवनस्तर सुधार सम्भव हुने उनको धारणा छ।
अन्त्यमा रोकायाले व्यवस्था र उपलब्धि जोगाउन आवश्यक परे आफू जीवन बलिदान दिन समेत तयार रहेको उल्लेख गर्दै नयाँ सरकार देश र जनताको पक्षमा उभिने विश्वास व्यक्त गरेका छन्।