दैलेख। माध्यमिक शिक्षा परीक्षा (एसईई) मुखैमा आइपुग्दा दैलेखको श्री जयदेव माध्यमिक विद्यालय, जम्बुकाँधका विद्यार्थीहरूले परीक्षा केन्द्र परिवर्तनको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
वर्षौंदेखि भैरव माध्यमिक विद्यालय मा तोकिने परीक्षा केन्द्र यसपटक हठात् चामुण्डा माध्यमिक विद्यालय, हाडकोटमा सारिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।
विद्यार्थीहरूको भनाइ छ।
परीक्षा सुरु हुन केही दिन मात्र बाँकी रहँदा केन्द्र टाढा सार्नु गैरजिम्मेवार निर्णय हो। “हामीले वर्षभरि मेहनत गरेर तयारी गरेका छौँ, तर अन्तिम समयमा यस्तो निर्णय गरेर हाम्रो मानसिक अवस्था कमजोर बनाइएको छ,” एक विद्यार्थीले आक्रोश व्यक्त गरे।
उनीहरूका अनुसार नयाँ केन्द्र दूरीका हिसाबले टाढा पर्नुका साथै बसोबास, यातायात र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण छ। “ग्रामीण क्षेत्रका विद्यार्थीलाई अतिरिक्त खर्च थोपारेर परीक्षा दिन बाध्य बनाउनु अन्याय हो,” उनीहरूले बताएका छन्।
मंगलबार विद्यार्थीहरूले चामुण्डाबिन्द्रासैनी नगरपालिका कार्यालय पुगेर निर्णय सच्याउन माग गरेका थिए। उनीहरूको चेतावनी छ— समयमै समाधान नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ।
यता, जिल्ला शिक्षा समन्वय इकाइ दैलेखले भने मन्त्रालयको परिपत्रअनुसार केन्द्र निर्धारण गरिएको जनाएको छ। तर विद्यार्थीहरू प्रश्न यदि निर्णय नीतिगत हो भने हामीलाई समयमै जानकारी र सहजीकरण किन गरिएन?
परीक्षा नजिकिँदै गर्दा उत्पन्न अन्योलले विद्यार्थीको मनोबलमा असर पर्ने देखिएको छ। अब सरोकारवालाहरूले विद्यार्थीमैत्री समाधान दिन्छन् कि बेवास्ता जारी रहन्छ त्यो चाँडै स्पष्ट हुने अपेक्षा गरिएको छ।