केशवराज पौडेल। शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न नागरिक समाज र सञ्चारकर्मीहरुको उपस्थितीमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । दैलेखको जम्बुकाँधमा नागरिक समाज र सञ्चारकर्मी हरु संगको अन्तरक्रिया कार्यक्रममा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश सचिव बिष्णु न्यौपानले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको हो ।
विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको सुरक्षा निम्ति निर्वाचन प्रचारप्रसारमा झण्डा बोक्न, नाराबाजी गर्न, नृत्य, गायन, प्रचार सामग्री वितरणमा प्रयोग गर्न नपाइने व्यवस्था भएकोले नागरिक समाजले निगरानी बढाउनेपर्ने उहाँले भन्नुभयो।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले राजनीतिक दल र उम्मेदवारहरुका कार्यक्रमहरुमा बालबालिका दुरुपयोग रोकथाम विषयमा नागरिक समाज र सञ्चारकर्मी संग गरिएको अन्तरक्रियाले निगरानी बढाउने र आचार सहिंता उलंघन भएको पाइएमा विना पूर्वाग्रह मिडियाले समाचार सम्प्रेषण गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
यस्तै चामुण्डाबिन्द्रासैनी स्तरीय नागरिक समाजका सचिव प्रकाश भण्डारीले नागरिक समाजले खबरदारी गर्ने र निर्वाचन आचार सहिंता उलंघन भए सरकारका निकायहरुले कारवाही गर्नुपर्ने बताउनुभयो । ती कामका लागि नागरिक समाज र पत्रकारहरुका वीच सहकार्य आवश्यकता रहेको बताउनुभयो।
शिक्षा पत्रकार समूह कर्णाली प्रदेश सदस्य दिपक शाहीले सहजीकरण गर्नु भएको थियो।