दैलेख। चामुण्डाबिन्द्रसैनी नगपालिका–४ डम्पाया स्थित बडाला चाल्लेचौतारा जोड्ने भित्री सडक खण्डमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरी चौकी जम्बुकाँध दैलेखका अनुसार आज बिहान करिब ७:३० बजे सडकमा रोकिएको क.प्र. ०२००१ क ०१५० नम्बरको टिपर स्टार्ट गर्ने क्रममा एक्कासी ब्रेक फेल भई करिब ५ मिटर तल खसेको थियो।
दुर्घटनामा चालक सल्यान जिल्ला बाघचौर नगरपालिका निवासी २७ वर्षीय हरिलाल भण्डारी गम्भीर घाइते भएका थिए। उनको कम्मर, छाती, खुट्टा र हातमा चोट लागेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाँधबाट प्रहरी सहायक निरीक्षक कबिराज साउदको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
घाइते भण्डारीलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा आज दिउँसो १:२५ बजे प्रादेश अस्पतालमा सुर्खेतमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।