दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दैलेख क्षेत्र नं. १ बाट नेपाली कांग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो।
मुख्य निर्वाचन अधिकृत पाण्डेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गर्नुभएको छ। त्यस्तै नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंहले ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा माओवादीका रामलाल विश्वकर्माले २३५, राजमोका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीकी मेनुका श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ।
यसैबीच, दैलेख क्षेत्र नं. २ मा मतगणनाको प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राख्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिक्पालकुमार शाही रहनुभएको छ। त्यहाँ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर शाही र चौथो स्थानमा नेकपाका योगेन्द्रबहादुर शाही रहेका छन्।
क्षेत्र नं. २ को मतगणना जारी रहेको निर्वाचन अधिकृत लोकहरी कँडेलले जानकारी दिनुभएको छ।