दैलेख। दैलेखको एक गाउँमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भएको घटना सार्वजनिक भएको छ। बालिका गर्भवती भएको थाहा पाएपछि मात्र घटना बाहिर आएको हो।
घटनामा संलग्न आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया सुरु गरेको दैलेखका प्रहरी इन्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो। पीडित बालिकाका अनुसार माघ १२ गते आरोपितले जोरजुलुम गरी बलात्कार गरेका थिए।
प्रहरीका अनुसार उक्त घटनामा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) (ख) अनुसार दोषी ठहर भए १८ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। साथै हाडनाता करणीसम्बन्धी दफा २२० को उपदफा (२) (ग) अनुसार थप ३ देखि ६ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ।
महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यस्ता घटना सार्वजनिक हुनु चिन्ताजनक मानिएको छ।
फागुन २३ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–६ की १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले समाज स्तब्ध बनाएकै बेला दैलेखमा पनि यस्तै प्रकृतिको गम्भीर घटना बाहिर आएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।